दैलेखमा क्वारेन्टाइन भद्रगोल, नगरपालिका दुईतर्फी समस्यामा
दैलेख, १४ जेठ : ठूलो सास्ती खेपेर भारतबाट आफ्नो जिल्ला आइपुगेका दैलेखका नागरिकले क्वारेन्टाइनमा पनि उस्तै दुःख पाएका छन् ।
क्वारेन्टाइनको व्यवस्थापन भद्रोगल हुँदा एउटै कोठामा २५ जनासम्म कोच्चिएर बसेका छन् । जसकारण उनीहरुलाई नै संक्रमणको जोखिम बढेको छ । नारायण नगरपालिका दुईतर्फी समस्यामा परेको छ ।
एकातिर आफ्ना ११ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लुलगायत पालिकाका नागरिकसमेत दैलेख सदरमुकाम आएर जाने क्रम बढेपछि थाम्न नसक्ने समस्या भएको नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्भयो, “विभिन्न पालिकाबाट आएका व्यक्तिलाई नारायण क्याम्पसमै ल्याएर छाडिदिने अवस्था सिर्जना भएको छ । आफ्नै जिल्लाका नागरिक हुन् भन्दै आफूले उच्च सतर्कताका साथमा बासस्थान, खानपानको व्यवस्थापन गर्दै आएको भए पनि सयौँको सङ्ख्यामा अन्य पालिकाका नागरिक आएपछि समस्या भयो ।” उच्च सम्मानका साथ व्यवस्थापन गर्दागर्दै देखिएका सानातिना कमजोरी देखेर विरोध गर्नेको प्रवाह नगरेरै काम गरिरहेको नगरप्रमुख खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकाको स्वास्थ्य टोली र जिल्ला स्वास्थ्य टोली उपचारका लागि क्वारेन्टिनमा पालैपालो काम गरेका छौँ ।
सुरक्षा अभाव हुँदाहुँदै पनि जनताको सुरक्षा प्रदान गर्ने काम भइरहेको छ ।” उहाँले सबैसँग हातेमालो गरेर कोरोना सङ्क्रमणबाट जनतालाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।
