मुस्लिम समुदायले ईद मनाउँदै, आज सार्वजनिक बिदा
काठमाडौं, १२ जेठ : रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।
दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुकी चन्द्रमा नदेखिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ ।
