संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ, ९ जेठ : सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । सरकारले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपालको संविधानको अनुसूची ३ सँग सम्बन्धित विषयमा संशोधन गर्न सो निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्शा ल्याउने निर्णय गरेको थियो ।
भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा(राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।
