कोरोनामुक्त भएपछि टेकु अस्पतालबाट ४ जना डिस्चार्ज
काठमाडौँ, ८ जेठ : कोरोना (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका छन् ।
नवौँ दिनको बसाइपछि उहाँहरुलाई आज अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष हुनुहुन्छ । टेकु अस्पतालको आइसोलेसनमा अब १ जना कोरोना संक्रमित मात्रै रहेको देवकोटाले जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ भने ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
