सीमामा नेपालीलाई अलपत्र छाड्ने भारतीय शैली डब्ल्यूएचओको मापदण्ड विपरीत : शंकर पोखरेल

काठमाडौं,१ जेठ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै कडा आपत्ति व्यक्त गरेका छन् ।

उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताएका छन् ।

बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’

यसअघि गत मंगलबारदेखि भारतीय रेल सेवा सुचारु भएपछि धेरै नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको छ । हाल भारतले अलपत्र परेका मजदुरहरुलाई उनीहरुको घर पठाउने नाममा बिभिन्न शहरहरुबाट मानिसहरु ओसारिरहेको छ ।

यस्तै नेपाल–भारत सीमामा आईपुगेका केही नेपालीलाई भारतका सुरक्षाकर्मीहरुले चोरबाटो हुँदै नेपाल पठाईरहेको समाचार आएको थियो ।

भारतबाट लुकिछिपी चोरबाटो हुँदै नेपाल आएका धेरैजसो व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार बिहानसम्म नेपालमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.