विश्व शान्तिको कामना गर्दै प्रधानमन्त्रीद्वारा दीप प्रज्ज्वलन
काठमाडौँ, २५ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे दीप प्रज्ज्वलन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्ज्वलन गर्नुभएको छ ।
देशभर आज साँझ ७ः०० बजे नै विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ ।







प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलबाट २५६४ औँ बुद्ध जयन्तीका अवसरमा कोरोनाविरुद्ध खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीको सम्मान तथा लुम्बिनी भ्रमण वर्षको समापनमा बिहीबार लुम्बिनीमा दीप प्रज्वलन गरेपछि हर्षोल्लास गरिँदै । तस्वीरः भरत केसी
