अज्ञात रोगले करेलाको बिरुवा मर्न थाले

धादिङ, २३ वैशाख: करेलाबालीमा रोगको महामारी फैलिएर नष्ट हुन थालेपछि धादिङको थाक्रे गाउँपालिका—११ बालुवाफाँटका किसान मर्कामा परेका छन् ।

सरकारले सिफारिस गरेको पाली एफ—१ जातको करेला लगाएर यतिखेर फल टिप्नुपर्ने बेलामा पहेँलो भएर बिरुवा नै मर्न थालेपछि उनीहरु मर्कामा परेका हुन् । बहत्तरजना किसानले लगाएका करेला, घिरौँला र लौकामा यस किसिमको समस्या आएपछि किसानले आम्दानी लिन नसक्ने अवस्थामा पुगेको किसान राजेन्द्र रुपाखेतीले बताउनुभयोे ।

खेतका गह्रामा लगाइएको करेला टिपेर बजारमा बिक्री गर्नुपर्ने बेलामा पात पहेँलो हुने, मुन्टा ओइलाउने र विस्तारै बिरुवासमेत मर्ने समस्या आएकाले कुन रोग लागेको हो पत्ता लगाउनै समस्या परेको कृषि प्राविधिक सागर बिडारीको भनाइ छ ।

बालुवा फाँटमा फलेको करेला गत वर्ष कतार निर्यात भएको थियो । यहाँको राम्रो करेला भएकाले यसलाई विदेश पठाइएको र यस वर्ष पनि किसान उत्साहित भएर गरेको खेती अज्ञात रोगले सखाप भएको छ । बीउ नै राम्रो नपरेको अनुमान लगाउँदै किसानले यसको तथ्य जाँच गर्नुपर्ने र राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सबैभन्दा राम्रो जातको करेला भनेर सरकारको सिफारिस बमोजिम किसानले लगाएको भए पनि तरकारी किसानले यस वर्ष ठूलो समस्यामा परेको किसान केशव रुपाखेतीले राससलाई बताउनुभयो । चक्रिय बालीअनुसार लगाइएको बालीमा समेत सबै करेला मर्न थालेकाले महामारीका रुपमा फैलिएर सखाप पारेको थियो ।

धादिङको थाक्रे गाउँपालिका-११ बालुवाफाँटका किसानले लगाएको करेलाखेती । अज्ञात रोगका कारण करेलाको बोट मर्न थालेपछि स्थानीय सरकारका प्रतिनिधिलाई समस्या समाधान गर्न माग गरेका छन । बालुवाफाँटमा ७२ जना किसानले तरकारी खेती गरेका छन । तस्वीरः सीताराम अधिकारी

बालुवाफाँटमा करेला खेती गरेका किसान समस्यामा परेको र वडाले मात्रै यो समस्या समाधान गर्न नसक्ने वडाध्यक्ष रविप्रकाश ओझाले जानाकारी दिनुभयो । गाउँपालिकाले यस क्षेत्रका केही किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिए पनि बाली बीमा र किसानको समस्या समाधानका लागि काम गर्न नसकेको किसानको गुनासो छ । गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले किसानको समस्या समाधानका लागि पहल गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.