प्रधानमन्त्रीले शासन गर्ने नैतिक आधार गुमाए : कांग्रेस

काठमाडौं, १७ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे प्रमुख विपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले देश कोरोनाको त्रासमा रहेका बेला पार्टी फुटाउने अध्यादेश ल्याएको, सांसद अपहरणमा प्रधानमन्त्रीकै नाम मुछिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्  ‘प्रधानमन्त्री अहिले कोरोनाबाट जनतालाई जोगाउनेभन्दा आफ्नो कुर्सी जोगाउने खेलमा हुनुहुन्छ ।’

यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक डाक्न समेत सरकारसँग माग गरेको छ ।

बजेटबारे छलफल गर्न ढिला हुने भन्दै बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक डाक्न माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले अबिलम्ब संसद बैठक बोलाउनुपर्ने केन्द्रीय समितिले माग गरेको जानकारी दिए । ‘बजेटबारे छलफल गर्न अब समय ढिलो हुन्छ । अबिलम्ब संसद बैठक बोलाउनुपर्छ,’ उनले भने ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालय ललितपुरको सानेपामा बुधबार पार्टी केन्द्रिय समितिको बैठक सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्दै । तस्वीर: रोशन सापकोटा

कांग्रेसले प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने पनि बताएको छ। कोरोना संक्रमण संकट रोकथामका लागि सरकारले प्राथमिकता नदिएको कांग्रेसको आरोप छ ।

यस्तै कांग्रेसले सांसद विकास कोष खारेज गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.