यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने सरकारको प्रक्षेपण
काठमाडौं,१७ वैशाख: चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा झर्ने भएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने भएको हो ।
कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा वृद्धिदर न्यून हुन पुगेको विभागको भनाइ छ ।
विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सबै क्षेत्रले यसको मार खेप्ने भन्दै यो वर्ष २.२७ प्रतिशतको वृद्धिदर मात्र सम्भव हुने विभागको अनुमान छ ।
योसँगै यो वर्ष नेपालको अर्थतन्त्र ३२ खर्ब ९ अर्बको पुग्ने अनुमान विभागले गरेको छ ।
अघिल्लो वर्षको वृद्धिदर ६.७ प्रतिशत मात्र थियो ।
विश्वव्यापी महामारी तथा यसको रोकथामका लागि अपनाइएको लकडाउनले अर्थतन्त्रका सबै क्षेत्रमा प्रहार गर्ने विभागले अनुमान गरेको छ।विभागले पर्यटन क्षेत्र बाहेक अरु छिट्टै सूचारु हुने अनुमान छ ।
अर्थतन्त्रमा २७.०७ प्रतिशत हिस्सा भएको कृषि क्षेत्रको वृद्धिदर केही सीमित हुने छ । यद्यपी कृषि क्षेत्र ऋणात्मक नहुने विभागको अनुमान छ। यो वर्ष २.४८ प्रतितले कृषि क्षेत्रमा मूल्य अभिबृद्धि हुने विभागले अनुमान गरेको छ ।
धानको उत्पादनमा आएको कमी, आपूर्ति प्रणाीमा अवरोध हँदा तरकारी तथा मासु, दूध उत्पादन तथा उपभोगमा केही कमी आउने छ। गहुँ तथा फलफूल बालीमा सामान्य वृद्धि हुने विभागको अनुमान छ ।
त्यस्तै उद्योग क्षेत्रको वृद्धिदर यो वर्ष ऋणात्मक हुने विभागको अनुमान छ ।
उत्पादन, उपभोग तथा आपूर्तिमा कमी आउँदा समग्र क्षेत्रकै २.२७ प्रतिशतले घट्ने विभागले अनुमान गरेको छ । उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.०९ प्रतिशत योगदान रहेको छ ।
निर्माण क्षेत्रको मूल्य यो वर्ष घट्ने छ । अघिल्लो वर्षको तुलनामा ०.३१ प्रतिशतले घट्ने विभागले अनुमान गरेको छ। खुद्रा व्यापार २ प्रतिशतले बढे पनि होटल तथा रेष्टुरेन्ट क्षेत्रकाे वृद्धि १६ प्रतिशतले घट्ने छ ।
पर्यटन ठप्प तथा आवागमन प्रभावित भएपछि यातायात तथा सञ्चार क्षेत्रमा पनि २ प्रतिशतले कमी आउने विभागले अनुमान गरेको छ ।
विभागले वित्तीय मध्यस्थता सेवा, रियल स्टेट तथा भाडा व्यापार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा केही वृद्धि हुने अनुमान गरेको छ ।
बजेटको मध्यावधि समीक्षामा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले लक्ष्यको हाराहारीमै आर्थिक वृद्धि हात पार्ने दावी गरेका थिए ।
