सर्जिकल पसललाई दुई लाख जरिवाना

काठमाडौँ, १७ वैशाख: दर्ताविना सर्जिकल पसल सञ्चालन गरेको र बढी मूल्यमा मास्क र थर्मल गन बिक्री गरेको कसूरमा बुधबार आज एक सर्जिकल पसललाई कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको इमाडोलस्थित काठमाडौँ ट्रेडिङ प्रालिलाई सोवापत रु दुई लाख जरिवाना गरेको हो ।

सामाजिक सञ्जालमा मास्कलगायत सर्जिकल सामग्रीको बढी मूल्य राखेको गुनासाका आधारमा अनुगमन गर्दा बढी मूल्य लिएको र दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त फर्मले रु चार हजार पाँच सयमा खरीद गरिएको थर्मल गनलाई रु आठ हजार र एन–९५ मास्कलाई बढी मूल्यमा बिक्री गरेको बयानका क्रममा बताएपछि जरिवाना गरिएको हो ।

विभागले लकडाउनयता (चैत ११ गतेदेखि वैशाख १७) गतेसम्म ९१ फर्मको अनुगमन गरेको र तीमध्ये अनुचित व्यापार गर्नेबाट जरिवानास्वरुप रु ४७ लाख ७५ हजार राजश्व संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.