भाटभटेनीलाई तीन लाख जरिवाना
काठमाडौँ, १५ वैशाख: दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ ।
विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि रु एक लाख जरिवाना गरेको छ ।
लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।
आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको छ । भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो ।
त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई रु एक लाख र जिएन स्टोरलाई रु पचास हजार जरिवाना गरिएको छ । ती चार पसललाई आज कारवाही गर्दा रु छ लाख ५० हजार राजश्व संकलन भएको बताइएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।
