पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं, १५ वैशाख: पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहसपछि अदालतले यस्तो आदेश गरेको स्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

गत बुधबार पक्राउ परेका उपाध्यायलाई यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।

प्रधानमन्त्री लगायत अन्यलाई गाली गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय विरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको थियो । उपाध्याय विरुद्ध आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो । यस मुद्दामा दोषी ठहरिए पाँच वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।

अदालतको आदेशपछि उपाध्याय २५ हजार धरौटी बुझाएमा प्रहरी हिरासतबाट आजै रिहा हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.