दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या

लमही, १४ वैशाख: लकडाउनका कारण दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या भएको छ ।

बन्दाबन्दीले मौरी राखिएको स्थानसम्म पुग्न नसक्दा कृषकले मह काढ्न सकेका छैनन् ।

दाङ जिल्ला मौरीपालनका लागि उर्वर भूमि मानिन्छ । मह उत्पादन हुने समयमै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएकाले मह काढ्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको कृषकको गुनासो छ । गत चैत १५ गतेदेखि मह काढ्ने याम शुरु भए पनि सो अगावै लकडाउन भएका कारण मह काढ्न नपाएको नेपाल मौरीपालन महासंघका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस याममा मौरी चरनका लागि यहाँका कृषकले कैलाली, लुम्बिनी, कपिलवस्तुलगायत जिल्लामा लगेका थिए । मौरीपालन फार्मका सञ्चालक माधव केसीले यस पटक मह काढ्न नपाउँदा रु १५ लाख बराबरको घाटा लागेको बताउनुभयो । चार सय गोला मौरी पालन गर्नुभएका केसीले यस याममा तीन टन मह उत्पादन गर्नुहुन्थ्यो ।

बागलुङ नगरपालिका ८ सिगाना बास्बोटका तेजेन्द्र गौतमले विदेश र जागिर छाडेर मौरीपालनबाट सन्तुष्ट हुँदै । उहाँको आर्जन एण्ड आर्जिता मौरी फर्ममा अहिले ६० घरा महुरी रहेका छन । उहाँले वार्षिक पाँचलाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तस्विर: खेमराज गौतम

यस वर्र्ष एक किलो मह पनि उत्पादन नभएको उहाँले बताउनुभयो । ‘‘मेरो मौरी कैलालीमा छ, म चैत २ गते यहाँ आएको हुँ, लकडाउनका कारण समयमा जनशक्ति र साधन नहुँदा मह काढ्न पाइन ’’, उहाँले भन्नुभयो ।

यस वर्ष करीब ४० गोला मौरी थप गर्ने योजना रहे पनि गोला फुटेर मौरी सबै भागेको केसीको भनाइ छ । त्यस्तै ३०० घार मौरीपालन गर्नुभएका विनोद हमालले पनि लकडाउनका कारण मह काढ्न नपाएको गुनासो गर्नुभयो । धेरैजसो किसानका मौरी अहिले चरनका लागि कैलालीलगायत जिल्लामा छन् ।

यससँगै माहुरीका लागि चरन सकिए पनि लकडाउनका कारण सम्बन्धित ठाउँमा पुग्न नसक्दा मौरी कसरी बचाउने भन्ने चिन्ता कृषकलाई छ । मौसमले साथ दिएको र कुनै रोग नलागेका कारण यस वर्ष मौरी र मह उत्पादन बढ्ने आशामा बसेका कृषकमा निराशा छाएको अर्का कृषक विष्णु केसीले बताउनुभयो । उहाँले १५० गोला माहुरीपालन गरेकामा एक केजी महसमेत उत्पादन नभएको र गोला थप गर्न नसकिको गुनासो गर्नुभयो ।

कृषकले यहाँ १६ हजार गोला मौरी पालेका छन् । त्यसबाट यस याममा करीब १६० देखि २०० टनसम्म मह उत्पादन हुने अनुमान गरिएको थियो । मह उत्पादन घटेसँगै जिल्लाका कृषकको करीब रु पाँच करोड क्षति भएको अनुमान गरिएको छ । मह प्रतिकिलो रु २५० देखि ३०० सम्म बिक्री हँुदै आएको थियो ।

जिल्लाका अन्य क्षेत्रमा मौरी राखेका कृषकलाई जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था नगरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.