थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, ११ वैशाख: नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका-३ भुल्केकी हुन् । उदयपुरमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।

यसैगरी आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।
योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

कोरोना भाइरसको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट हालसम्म ४३ हजार ७२२ जनामा परीक्षण सम्पन गरिएको छ । जसमा पिसिआर नौ हजार १९९ र आरडिटी ३४ हजार ५२३ मा परीक्षण गरिएको मन्त्रालयले जनाएको हो

क्वरेन्टाइनमा बस्नेको सङ्ख्या १० हजार ५७१ छ । अहिलेसम्म आइसोलेशनमा ८६ रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा चार छन् भने उपत्यका बाहिर ८२ जना रहेका छन् । रेड जोनमा हालसम्म २७८ जना रहेका छन् ।

त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले आफ्नो अस्पतालले अत्यावश्यक सेवा र ओपीडी सेवालाई निरन्तरता दिइएको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिईको व्यवस्था गरी उपचारमा खटिएको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालले अनलाइन र फोनका माध्यमबाट पनि बिरामीको स्थिति बुझ्ने गरेको बताउनुभयो ।

जो कसैलाई पनि समस्या परेमा अस्पतालको फोन नम्बर ०१४२२५२७५ र ९८४०८८३०५५ मा सम्पर्क गरी जानकारी लिन सकिने अस्पतालका प्रमुख पोडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.