पूर्वसचिव उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश
काठमाडौं, ११ बैशाख: पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न अनुमति दिएको छ ।
थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले हिजो बुधवार साँझ ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
उपाध्यायमाथि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै ३ ठाउँबाट उजुरी आएपछि नियन्त्रणमा लिइएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।
अहिले उपाध्यायलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न तरुण दलको माग
नेपाल तरुण दलले पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न माग गरेको छ ।
तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरी उपाध्यायलाई विनासर्त रिहा गर्न माग गरिएको छ । उपाध्यायलाई झुटा आरोप लगाई पक्राउ गरिएको तरुण दलको भनाइ छ ।
विपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटलभित्र बन्धक बनाएको भन्ने सुन्नमा पनि आएको भन्दै तरुण दलले त्यसलाई लोकतन्त्र विरोधी गतिविधि भनेको छ ।
तरुण दलले सरकारका यस्ता गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि ‘जस्तोसुकै’ आन्दोलन गर्ने चेतावनी दिएको छ ।
