दल दर्ता गर्न नवगठित जनता समाजवादी पार्टी निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख: समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत निर्वाचन आयोग पुगिसकेका छन् ।

उनीहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।

अन्य नेताहरु पनि आयोग आउने क्रम जारी रहेको  बताए ।

यसैबिच समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव ‘अपहरण’बाट मुक्त हुन सफल भएको सो पार्टीले दावी गरेको छ ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य र सञ्चार बिभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल टुइटरमा सांसद यादवसँग चिया खाँदै गरेको फोटो समेत राख्दै यस्तो बताएका हुन् ।

डा. यादवलाई नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले मध्यराती काठमाडौं ल्याइपुर्‍याएको पाण्डेले बताए ।

सांसद यादव पार्टी फुटाउने समुहबाट अलग भएपछि समाजवादी पार्टी तत्काल फुटाउन सम्बभ नहुने देखिएको छ । पार्टी फुटाउन संसदीय दलमा ४० प्रतिशत सांसदहरु आवश्यक पर्छ । सांसद यादवले हस्ताक्षर नगरेपछि ४० प्रतिशत पुग्दैन ।

सांसद यादवले आजै वरिष्ठ नेता अशोक राई अपहरित सांसदहरुलाई उद्धार र अभिभावकत्व प्रदान गर्न नक्साल स्थित होटल मेरियट गएको समेत उनले बताएका छन् ।

यसैबिच बिहान पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पार्टी फुटाउन नेतृत्व गर्ने सांसदहरु रेणु यादव र ईस्तियाक राईसँग कुरा गरेको र स्थिति सम्हाल्ने प्रयास भैरहेको पनि पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.