स्वास्थ्यकर्मीको मृत्यु भएमा दश लाख 

खोटाङ, १० वैशाख: हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई रु दश लाख दिने निर्णय गरेको छ ।

नगरपालिकाले भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि तयार पारी प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख इवन राईले बताउनुभयो ।

नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न नगरपालिकाबाट विनियोजित बजेट रकमान्तर गरेर नगरस्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाइन सञ्चालनलगायत अत्यावश्यक स्वास्थ्य सामग्री खरीद गर्न बजेट नभएकाले अन्य शीर्षकको बजेट कोषमा जम्मा गरेर खर्च गर्ने तयारी गरिएको हो ।

नगरकार्यपालिकाको बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने, चैतयता घर आएका स्थानीयवासीलार्ई ¥यापिड डाइग्नोष्टिक टेष्टका लागि अनिवार्य उपस्थित गराउन समन्वय गर्नेलगायत निर्णयसमेत पारित गरेको छ । यसैबीच जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा चैतयता विदेशबाट घर फर्किएर होम क्वारेन्टाइनमा बसेका २३ व्यक्तिमा सोमबार गरिएको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना, खाजा र स्वास्थ्योपचारको व्यवस्था गरेका छन् ।

उदयपुर जिल्लासँग आवतजावतमा प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म गरिएको ¥यापिड डायग्नोष्टिक टेष्टमा सबै ९२ जनाको रिर्पोट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । ¥यापिड डायग्नोष्टिक टेष्टमा नेगेटिभ रिर्पोट देखिएका हलेसी तुवाचुङ नगरपालिकाका पाँच र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको पिसीआर टेष्ट गर्न नमूना सङ्कलन गरेर कोशी अस्पताल विराटनगर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले १२० वटा किट पठाएपछि विदेशबाट घर फर्किएका जिल्लाका १२० व्यक्तिको पहिलो चरणमा ¥यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको जनाइएको छ । चैतयता विदेशबाट फर्किनेको सङ्ख्या अधिक रहेकाले थप किट तत्काल पठाउन सङ्घ तथा प्रदेश सरकारसमक्ष माग गरिएको जनाइएको छ

तीन सय चार श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड रहेको जिल्लामा अहिलेसम्ममा क्वारेन्टाइन बस्नेको सङ्ख्या ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.