बेनी नगरपालिकाको कोरोना कोषमा एक करोड
गलेश्वर, ९ वैशाख: म्याग्दीको बेनी नगरपालिकाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोना नियन्त्रणका लागि लकडाउन घोषणासँगै रु ५० लाख बजेट विनियोजन गरेको नगरपालिकाले दोस्रोपटक ५० लाख रुपैयाँ थप गरेर रु एक करोडको कोष स्थापना गरेको हो ।
कारोना नियन्त्रण र रोकथामका लागि आइसोलेशन वार्ड निर्माण, क्वारेनटाइन सञ्चालन र विपन्नको राहतसँगै आवश्यक सामग्री खरीदका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना उपचारलाई लक्षित गरी जिल्ला कमान्ड पोष्टको निर्णयअनुसार नगरपालिकाका तर्फबाट १० श्यया क्षमताको आइसोलेशन कक्ष निर्माणमा बजेट विनियोजन गर्ने निर्णय भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कोरोना रोकथाम कमान्ड पोष्टले बेनीमा २० श्यया क्षमताको आइसोलेशन वार्ड बनाउने निर्णय गरेको थियो ।
बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडास्तरमा राहत वितरण, स्वयम्सेवक परिचालनसमेत गर्दै आएको छ ।
यसअघि नगरपालिकाले बेनी अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गर्नाका साथै न्यू बेष्ट प्वाइन्ट आवासीय माविको भवनमा ३० श्ययाको क्वारेन्टाइन स्थापना, विदेशबाट आएकालाई एकान्तवास राख्ने, बजार क्षेत्रमा क्लोरिन छर्कनेलगायतका काम गरेको थियो ।
