उदयपुर थप एक जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ६ वैशाख: नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये तीन जना उपचारपछि निको भएका छन् ।
कोरोना सङ्क्रमित देखिएको भुल्के गाउँमा तीव्ररुपमा कोरोना परीक्षण
उदयपुरको त्रियुगा नगरपालिका– ३ स्थित भुल्के गाउँको मस्जिदमा बसेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि भुल्के गाउँ शिल गरेर व्यापकरुपमा गाउँलेमा कोरोना परीक्षण कार्य शुरु गरिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज नै प्रदेश नं १ जनस्वास्थ्य कार्यालय विराटनगरबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा जयवेन्द्र यादवको नेतृत्वमा छ जनाको टोली उदयपुर आइपुगेपछि स्वास्थ्य कार्यालयको टिमसहित अहिले भुल्के गाउँमा व्यापकरुपमा कोरोना परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका विशेषज्ञसहित विभिन्न सामग्री तथा उपकरणसहितका टोली उदयपुुर आएपछि अहिले भुल्के गाउँका मस्जिद आसपास क्षेत्रका ६० जनाभन्दा बढी स्थानीयको कोरोना परीक्षणका लागि स्वाब लिने कार्य भइसकेको र आजै अन्य स्थानीयको थप गरेर १०० जनासम्मको स्वाब लिने पनि स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।
आजै प्रदेश नं १ जनस्वास्थ्य कार्यालयको टोली विराटनगर फर्केर भुल्केका १०० जना स्थानीयको स्वाब ल्याबमा परीक्षण गरेर भोलिसम्ममा रिपोर्ट तयार गर्नेसमेत प्रदेश जनस्वास्थ्य कार्यालय प्रदेश १ प्रयोगशालाका निर्देशक डा जयवेन्द्र यादवले बताउनुभयो ।
आज परीक्षण गरिएकामा कोरोना पोजेटिभ भेटिए भुल्केका अन्य गाउँलेमा पनि परीक्षण गरिने र नेगेटिभ रिपोर्ट आए अन्य गाउँलेको स्वाब परीक्षण गर्न नपर्ने अवस्था आउनसक्ने कुरा स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताउनुभयो ।
भुल्के मस्जिदमा १२ जना भारतीय मुस्लिम नागरिक गत चैत ७ गते नै आएर धार्मिक गतिविधि गर्दै आएका थिए भने लकडाउन भएका कारण उनीहरु भारत फर्कन नसकेपछि मस्जिदमा लुकेर बस्दै आएको स्थानीयले बताएका छन् । स्थानीयले मस्जिदमा भारतीय नागरिक लुकेर बसेको प्रहरीमा सूचना दिएपछि प्रहरीले आठ दिनअघि मस्जिदमा छापा मारेर उनीहरुको स्वाब परीक्षण गर्न विराटनगर पठाएपछि शुक्रबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।
भुल्के मस्जिदमा रहेका भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण देखिएपछि अहिले प्रशासनले गाउँ नै शिल गरेर गाउँलेलाई बाहिर जान प्रतिबन्ध र बाहिरकालाई गाउँ प्रवेश गर्न प्रतिबन्ध लगाएर गाउँ शिल गरेको प्रहरीले बताएको छ ।
