बढीघाट खोलाको पुल दोस्रोपटक पनि बाढीले भत्कियो
गुल्मी, ४ वैशाख : बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ ।
गत वर्ष ढलान गर्ने बेलामा पनि यो पुल भत्किएको थियो । भत्किएको आठ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो ।
बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल दोस्रो पटक पुनः भत्किएको हो । अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा उक्त पुल भत्किएको थियो ।
भत्किएको उक्त पुलको आठ महिनापछि पुनःनिर्माण शुरु गरी चैत मसान्तमा तल्लो ढलान सम्पन गरिएको थियो ।
बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।
निर्माणाधीन यो पुल करिब ५८ मिटर लामो छ । तर पुलको बीचमा पिलर छैन ।
मुसिकोट नगरपालिका प्रमुख सापकोटालाई पनि बीचमा पिलर भएको भए पटक–पटक पुल भत्किदैनथ्यो कि भन्ने लाग्छ । उनी भन्छन्, ‘यो खोलो हेर्दा पुलको बीचमा एउटा पिलर पनि भएको भए राम्रो हुन्थ्यो भन्ने जो कोहीलाई लाग्छ । बीचमा पिलर भएको खोलोलाई डाइभर्ट गर्थ्यो कि ।’
यसको डिजाइन गर्ने इन्जिनियरहरुले भने बीचमा पिलर नचाहिने बरु ठेकदारले राम्रोसँग बनाउनु पर्ने बताउने गरेको सापकोटाले जानकारी दिए । ठेकदार पक्षले पनि बीचमा पिलर चाहिन्छ भनेको सापकोटाले बताए ।
सापकोटाले भने, ‘यो ठूलो खोलो हो, सामान्य होइन । त्यही भएर बीचमा पिलर चाहिन्छ भन्ने ठेकदार पक्षको भनाइ छ । हामी प्राविधिक नभए पनि त्यहाँको भूगोल हेर्दा हामीलाई पनि बीचमा पिलर चाहिन्छ भन्ने लाग्छ । जुनसुकै मान्छेलाई पनि त्यही लाग्छ । तर डिजाइन गर्नेले यो डिजाइन फेल होइन, ठेकदारको लापरवाही हो भन्छन् ।’
तीन वर्षअघि सङ्घीय सरकारको रु पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले उक्त पुल निर्माणको जिम्मा पाएको थियो ।
बाढीले चौरासी-धुर्कोट जोड्ने पक्की पुलसमेत उच्च जोखिममा छ । त्यस्तै बाढीले निस्ती खोलामा रहेको चण्डेश्वरी हेभी इक्विपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्रयाक्टरसमेत बगाएको छ ।
