वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे
तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।
सरकारका एक मन्त्रीका अनुसार मंगलबारको मन्त्रीपरिषदको बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।
घिमिरे अघि निगमको कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको संचालक समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था खारेज गर्दै महाप्रवन्धक सुगतरत्न कंसाकार भन्दा एक तहमाथि झापाका मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । तर उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया लागेका थिए ।
घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिको अध्यक्ष थिए । पर्यटन मन्त्रालयमा योगेश भट्टराई मन्त्री भएरपछि घिमिरेकै नेतृत्वमा साउनमा ५ सदस्यीय निगम सुधारका लागि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो ।

४० अर्ब ऋणमा छ नेपाल वायुसेवा निगम
निगम सुधार सुझाब कार्यदलको प्रतिवेदनअनुसार निगमको दीर्घकालीन ऋण ४० अर्ब १३ करोड ३८ लाख रुपैयाँ छ । गत आवसम्म निगमको सञ्चित नोक्सानी ५ अर्ब २१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
