प्रधानमन्त्री ओलीको प्रतिष्ठान, शेखपछि सबै सम्पत्ति प्रतिष्ठानलाई

काठमाडौं, वैशाख २: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा प्रतिष्ठान दर्ता गरेका छन्।

ओलीले प्रधानमन्त्री हुनुअघि नै सो प्रतिष्ठान दर्ता गराएका हुन् । प्रधानमन्त्री हुनु अगावै प्रतिष्ठान दर्ता गराएको भएपनि सोको जानकारी हालैमात्र आफूहरूलाई गराएको ओली निकट नेपाल कम्युनिस्ट पार्टीका एक स्थायी समिति सदस्यले बताए ।

‘उहाँले प्रतिष्ठान दर्ता गराएको जानकारी दिनुभएको छ । उहाँले बालकोटको निवास र सोले चर्चेको जग्गा आफ्नो र पत्नी राधिका शाक्यको शेखपछि प्रतिष्ठानले भोगचलन गर्ने बताउनु भएको छ’, ती स्थायी समिति सदस्यले भने ।

प्रधानमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार ओलीको सबैजसो अचल सम्पत्ति पत्नी राधिकाको नाममा छ । त्यसमा भक्तपुरको बालकोटमा डेढ रोपनीको क्षेत्रफलमा रहेको ३ तल्ले दुई वटा घर छन् । यस्तै झापामा १० कट्ठा जमिन पनि राधिकाकै नाममा छ ।

यसैगरी ओलीले त्यतिबेला बुझाएको सम्पति विवरणमा श्रीमती शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख, प्रभू बैंकमा ६ लाख र २५ लाख रुपैयाँको बचतपत्र रहेको उल्लेख गरेका थिए ।

यसैगरी ओलीले आफ्नो नाममा एभरेष्ट बैंकमा ४२ लाख रूपैयाँ रहेको जनाएका थिए ।

उनले आफ्नो सम्पतिको श्रोत तलबभत्ता देखाएका छन् भने श्रीमती शाक्यको सम्पति पनि स्वआर्जन रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.