पर्यटकीय रानीतलाउ उद्यान चकमन्न

नेपालगञ्ज, २ वैशाख: आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको यहाँको रानीतलाउ उद्यान कोभिड—१९ पछिको जारी बन्दाबन्दीका कारण अहिले चकमन्न भएको छ ।
दुई दशकसम्म बन्दको अवस्थावाट त्राण पाएर पुनः सञ्चालनमा ल्याइएको ऐतिहासिक पृष्ठभूमिको रानीतलाउ उद्यान विस्तारै नेपालगञ्ज बाहिरका लागि पनि मनोविनोद गर्ने आकर्षकको केन्द्र बन्दै गएको थियो ।

नेपालगञ्ज भूगोलको मध्यभागमा अवस्थित यो उद्यानमा मूलतः त्यहाँ रहेको नौकाबिहारले सबैलाई मोहित बनाउँछ । उद्यानमा रमणीय बगैचा, बालबालिकाका लागि पिंग, चिप्लेटी, चमेनागृहलगायत व्यवस्था गरिएका छन् । नेपालगञ्ज वडा नं ८ मा रहेका गोलाकार आकारको रानीतलाउ उद्यानमा पछिल्लो समय भारतीय पर्यटकको आगमन समेत बढेको थियो तर, कोरोना महामारीले सीमानाका बन्द र आन्तरिक बन्दाबन्दीले उद्यान सुनसान भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि पर्यटनको विकासमा समेत रानीतलाउ उद्यान कोशेढुङ्गा सावित हुँदै गएको थियो । उपमहानगरपालिकाले झण्डै रु २५ लाख खर्चेर जिर्णोद्धार गरेको रानीतलाउ उद्यानलाई प्रतिवर्ष भ्याटसहित रु २९ लाख ३४ हजारमा ठेक्का सञ्चालन अनुमति दिइएको छ । प्रवेश शुल्क रु पाँच र नौकाबिहारको रु २५ शुल्क तोकिएको छ । प्रवेश शुल्क रु पाँच निकै कम भएकाले बढाउनुपर्ने ठेकेदार मुमताज शेषले माग राख्नुभएको छ ।

उहाँका अनुसार, सामान्य दिनमा ३०० भन्दा बढी व्यक्ति उद्यान अवलोकनका लागि आउने गर्थे । “शनिवार र चाँडपर्वमा भने एक हजारभन्दा वढी आउने गरेका थिए”, ठेकेदार शेषको भनाइ छ । अहिले बन्दाबन्दीले दैनिक सरदर रु १० हजार बढी घाटा हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रलाई परेको विपत्तिमा हामीले पनि केहि त सहनै प¥यो ।”
यसैगरी, आन्तरिक तथा वाह्य पर्यटकको आकर्षकको केन्द्र नेपालगञ्जको अर्को ऐतिहासिक महेन्द्र उद्यान पनि बन्दाबन्दीको चपेटामा परेको छ । ‘मिनी जू’ को उपनाम पाएको उद्यानमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका जङ्गली जनावर र चराहरु रहेका छन् ।

नेपालगञ्जका यी दुई पर्यटकीयस्थल मात्र नभई यहाँको ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, कान्तिताल र करोडौ लगानीको पानी उद्यान (वाटरपार्क) निर्माण योजना बन्दाबन्दीका कारण रोकिँदा लाखांै रुपैयाँको घाटा परेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.