सशस्त्र प्रहरीद्वारा सीमाक्षेत्र शिल
अत्तरिया, २९ चैत : सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा मानिस भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सीमानाकालाई पूरै शिल गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर गणपति कमल तिमिल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ । भारतसँग खुला सिमाना भएका कारण लकडाउनको समयमा कोही पनि नेपाल भित्रिन नदिन सशस्त्र प्रहरीले सीमानाकामा सुरक्षाका साथै निगरानी गर्दै आएको तिमिल्सिनाको भनाइ छ ।

सशस्त्र प्रहरीले सीमित साधन स्रोतका बाबजुत सीमा क्षेत्रमा २४सैँ घण्टा सर्वसाधारणको आवागमनमा पूर्णरुपमा रोक लगाएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशभर ४३ वटा सीमा सुरक्षा जाँचचौकी रहेका छन् । सशस्त्र प्रहरीले दक्षिण र पश्चिममा ५५० किलोमिटर सीमानाकामा सुरक्षा गर्दै आएको जनाएको छ ।
