दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी
घोराही, १६ मङ्सिर : दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
नेकपाकी उम्मेदवार खत्री ओलीले २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याउनुभएको छ । ओली प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुनुहुन्छ । उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । आइतबार राति १२ बजे मतगणना सकिएको थियो ।
राप्रपाका भूपाल रावतले २२५, राप्रपा(संयुक्त)का छोटीलाल थारुले १३८, नेकपा(माले)का हरिप्रसाद डांँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० र लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ तथा काँग्रेस (बिपी) का दीपककुमार धितालले दुई मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गर्नुभएको छ । उपनिर्वचनमा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो ।
फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी
मिक्लाजुङ, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गर्नुभएको हो ।
गए राति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा १७९ मत बदर भएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो ।
विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा पिता नरबहादुर र आमा दिलमाया कुरुम्बाको जेठो छोराका रुपमा वीरबहादुरको जन्म भएको थियो । कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । विसं २०५२ मा तत्कालीन नेकपा (एमाले)बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित हुनुभएको थियो ।
