युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार घोषणा
पोखरा, ११ मङ्सिर : यस वर्षको युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेललाई पुरस्कृत गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार र ताम्रपत्र रहेको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की कार्यसमिति सदस्य रहनुभएको पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आबद्ध हुनुहुन्छ । पत्रकार हरि बाँस्तोलाको संयोजकत्वमा डा नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकारद्वय दीपक परियार र यदुनाथ बञ्जरा रहनुभएको प्रतिभा छनोेट समिति गठन गरिएको थियो ।
यही मङ्सिर २३ गते हुने युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) को छैटौँ वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण गरिने संस्थाका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो । सो पुरस्कारबाट यसअघि पत्रकार ऋषि खतिवडा र यदुनाथ बञ्जरा सम्मानित भई सक्नुभएको छ ।
