आँखा चिम्लेर होइन, आँखा खोलेर हेर जनताका लागि धेरै काम अगाडि बढेका छन् : प्रधानमन्त्री ओली
काठमाडौँ, २९ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उहाँले हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “जनताका लागि धेरै काम भएका छन् । जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन् । ”
प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता छ भन्नुभयो । उहाँले विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गर्नुभयो । एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन उहाँले आह्वानसमेत गर्नुभयो ।
आर्थिक विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै : दाहाल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताउनुभएको छ ।
केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गर्नुभयो ।
शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “टु प्लस वान भनेर राष्ट्रपति सी र नरेन्द्र मोदीका बीचमा पनि छलफल अगाडि बढेर एउटा नयाँ परिस्थिति बन्न थालेको छ, उहाँको भ्रमणका क्रममा गरिएका सहमति र समझदारीले नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ ।”
चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्टित होइन भू–जडित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उहाँले जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले छिमेकी देशको विकासबाट हामीले लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको उल्लेख गर्र्दै यो भ्रमणको धेरै आयाम छन्, त्यसको नयाँ महत्वपूर्ण पक्ष राष्ट्रपति सी चिनफिङ भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी नेपालमा आएर जुन सद्भाव, विश्वास र समझदारीको वातावरण बनेको छ, त्यो महत्वपूर्ण छ भन्नुभयो । यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको समेत उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले सकारात्मक ढङ्गले विकसित भएको मुलुकको संवैधानिक, कानूनी र राजनीतिक वातावरणलाई राष्ट्रिय एकताका साथ राष्ट्रिय स्वाधीनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताले चाहेको छिटोभन्दा छिटो विकास र समृद्धि हेर्ने आकाङ्क्षा पुरागर्न नयाँ सङ्कल्प गर्नु जरुरी रहेको बताउनुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रमलाई सङ्केत गर्दै अध्यक्ष दाहालले यसखालका कार्यक्रममार्फत हामीले गर्ने प्रतिबद्धता राजनीतिक दलबीच सुदृढ एकता नै हो भन्नुभयो ।
प्रमुख दलको सहमतिबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गरी निर्वाचको माध्यामबाट राजनीतिक स्थायित्वको वातावरण बनाएको जिकिर गर्दै उहाँले यसलाई शक्तिको रुपमा लिई विकास र समृद्धिमा रुपान्तरण गर्नुपर्ने अभिभारा सबै राजनीतिक दलको काँधमा आएको बताउनुभयो ।
सात दशक लामो नेपाली जनताको सङ्घर्षको उपलब्धिको रुपमा आएको यो परिवर्तनलाई कसैले चुनौती दिन नसक्ने जिकिर गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिले पनि संसद्मा भएका सबै राजनीतिक दलहरु संविधान, विकास र समृद्धिको नारामा एकमत छौँ, एक मत भएर नै अघि बढ्छौँ ।”
नेपाली समाजको विशेषतालाई ध्यानमा राख्नुपर्छ : पूर्वप्रम नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि संसारको अनुभव लिएर अगाडि बढनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासले समग्र देशको विकासमा प्रभाव पार्ने हुँदा यसको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले जलविद्युत् क्षेत्रको विकासमा गरिने लगानीले दीर्घकालमा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै प्राकृतिक सौन्दर्य, पर्वतारोहणका क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटनको अभिवृद्धि गर्न सकिने हुँदा त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । धार्मिक पर्यटनको पनि राम्रो सम्भावना रहेकाले धार्मिक सम्पदाको संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
जनअपेक्षाअनुसार प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, “जुन लोकप्रिय र प्रभावकारी रुपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन, आकासे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन ।” तीव्र गतिमा कार्य सम्पादन गरी ठोस ढङ्गले अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उहाँले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनःगठनका बारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताउनुभयो । सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय लिइने उहाँको भनाइ थियो ।
शुभकामना कार्यक्रम नेताहरुलाई नजिक्याउने अवसर : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चाडवाडका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक नेताहरुलाई नजिक ल्याउन मद्दत गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले यस्ता कार्यक्रम नियमित हुनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारसँग संक्षिप्तमा कुरा गर्दै सभापति देउवाले विपी कोइरालाबाट शुरु गरेको कार्यक्रम अहिले सबै पार्टीहरुले आयोजना गर्ने गरेको स्मरण गर्दै चाडवाडमा हुने यस्ता कार्यक्रमले भेटघाटकोे अवसर मिल्ने उल्लेख गर्नुभयो ।
सभामुख वा उपभामुखमध्ये एक काङ्ग्रेसलाई चाहिन्छ : नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौँ, सदन र सडकमा विरोध गर्छाैं, सदनमा रहेका काङ्ग्रेस सांसदहरुले पनि लाछीपन देखाउनु हुँदैन ।” एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सो पद रिक्त छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बहुआयामिक महत्व ः अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि बहुआयामिक महत्वको बन्न पुगेको बताउनुभएको छ ।
अध्यक्ष थापाले दैवी प्रकोप, नाकाबन्दीलगायत समस्याबाट नेपाली जनताले कष्ट भोगिरहेको अवस्थामा चीनसँगको दीर्घकालीन आर्थिक विकासको नयाँ खाका खोल्ने सरकारको प्रयासकोे सराहना गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले छिमेकी मुलुकसँगको रेल, तेल, बिजुली र पारबहनको सम्बन्ध भनेको नेपालको ‘पहिचानका लागि रणनीति’ हो भन्नुभयो ।
नेपालका राजनीतिक दलहरुबीच विभिन्न किसिमका मतभेद भए पनि आत्मियता र सद्भाव कायम राखेर शुभकामना आदानप्रदान गर्ने संस्कृति परम्परादेखि चलिआएको उल्लेख गर्दै अध्यक्ष थापाले यस्तै किसिमको सद्भाव र एकता कायम राखी मुलुकको विकास, राष्ट्रियताको संरक्षण र समृद्धिका लागि मिलेर जानुुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अरू देशको तुलनामा नेपालका पार्टीहरु बीच जतिसुकै समस्या भए पनि शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने चरित्र नेपाली नेताहरुमा रहेकाले यो एकतालाई मुलुकको सर्वाङ्गिण हित र आवश्यकतामा प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष थापाले विचार र मार्गचित्र हरेक दलको फरक हुने भए पनि मुलुकको मूलभूत विषयमा एकता र समझदारी भए देश र प्रजातन्त्र बलियो हुने तर्क गर्नुभयो ।
दुई तिहाइ बहुमत रहेको सरकारले मुलुकको शान्ति, स्थायित्व र आर्थिक विकासमा ठूलो प्रगति हुन नसकेको जिकिर गर्दै थापाले सरकारले केही राम्रा काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
‘मन्त्रिमण्डल पुनःगठनमा प्रधानमन्त्रीको क्षेत्राधिकार’
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुनसक्ने बताउनुभएको छ । चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीका नेताहरुसँग आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनःगठन गर्नसक्ने जनाउनुभएको हो ।
उहाँले भन्नुभयो, “तर यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो ।” उहाँले दलबीच राजनीतिक विषयमा मतान्तर भए पनि देशको समृद्धि, संस्कृति र आपसी सद्भावका सवालमा साझा बिन्दु पहिल्याएर अघि बढ्न चाडपर्व र चियापानले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो ।
