बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुने : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै ।

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताउनुभएको छ ।

काठमाडौँमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनबारे प्रतिनिधिसभामा जानकारी दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “बिम्स्टेकलाई प्रभावकारी बनाउन, वातावरणको क्षेत्रमा देखिएको परिवर्तनलाई सामना गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, सदस्य राष्ट्रका जनता–जनताबीच आवतजावत सहज बनाउन सम्पर्क सञ्जाल विस्तार गर्न तथा साझेदारी र सहयोग बढाउन सम्मेलन निकै उपयोगी हुनेछ ।”

संविधान कार्यान्वयन र तीन तहको निर्वाचनपछि नयाँ सरकारले आयोजना गरेको पहिलो ठूलो कार्यक्रमका रुपमा बिम्स्टेक शिखर सम्मेलन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस क्षेत्रका जनताको आर्थिक समृद्धि, यातायात सञ्जाल विस्तार तथा बौद्ध परिपथ निर्माण र विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, म्यान्मा, भुटान र थाइल्याण्ड राष्ट्र सम्मिलित बिम्स्टेकको अध्यक्ष राष्ट्रको रुपमा सन् २०१४ देखि नेपाल रहेको छ । यस पटकको शिखर सम्मेनको नारा ‘शान्ति, समृद्धि र दिगो बङ्गालको खाडी’ भन्ने रहेको छ ।

प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने शिखर सम्मेलन २० वर्षको अवधिमा चार पटक मात्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माण, तीन तहको निर्वाचन गर्नुपरेका कारण केही ढिलाइ भए पनि अहिले शिखर सम्मेललाई साकार पार्न नेपाल जुटिरहेको बताउनुभयो ।

विभिन्न १४ वटा क्षेत्र समेटिएका बिम्स्टेक समूहको पहिलो पहिलो शिखर सम्मेलन सन् १९०७ मा थाइल्याण्डमा भएको थियो । बिम्स्टेकलाई केबल सङ्गठनको रुपमा मात्र नभई क्षेत्रीय विकास र सहयोगका लागि प्रभावकारी सङ्गठनको रुपमा लैजानुपर्छ, भनेर ढाका सम्मेलनपछि व्यापार, सम्पर्क सञ्जाल, जलवायु परिवर्तन, आतङ्कवाद नियन्त्रण र गरीबी निवारणका अतिरिक्त सामुद्रिक र हिमालयन अर्थतन्त्रसम्बन्धी विषयवस्तु समेटेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

शिखर सम्मेलनका क्रममा काठमाडौँमा रहँदा सदस्य मुलुकका सरकारका राष्ट्रप्रमुख र सरकार प्रमुखबीच औपचारिक भेटघाट तथा दुईपक्षीय हितका विषयमा हुने छलफल र परामर्श कार्यक्रममा सहभागी रहने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिखर सम्मेलनमा सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखको भेटघाटको कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रको हैसियतले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को पनि शिखर सम्मेलन छिटै होस् भने चाहिरहेको बताउनुभयो ।

सांसदको : प्रधानमन्त्रीको जवाफ

प्रधानमन्त्री केपी शर्माले, कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन र मुलुकका समसामयिक विषयमा आज सदनलाई जानकारी दिएपछि सांसदले प्रधानमन्त्री ओलीसँग भ्रष्टाचार, महिला हिंसा, आपराधिक क्रियाकलाप र करलगायतका विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेको सरकारले कुनै पनि भ्रष्टाचार गर्दैन, अरुलाई पनि भ्रष्टाचार गर्न दिँदैन, भ्रष्टाचार गरेको सहँदैन, कृतिम मूल्यवृद्धिलाई प्रभावकारी ढङ्गले नियन्त्रण गरिनेछ, बजारको प्रभावकारी अनुगमन हुनेछ ।’’ स्थानीय तहको करबारे अतिरञ्जित ढङ्गबाट बढाइचढाई गरिएको बताउँदै उहाँले अधिनायकवादको लक्ष्य भनेको जनताको मत र जनाधारको अपमान गर्ने हुन्छ भन्ने पक्षलाई सबैले हेक्का राख्न आवश्यक रहेको बताउनुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को विकल्पमा रुपमा बिम्स्टेकलाई नबुझ्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सार्कका हरेक शिखर सम्मेलन भइरहेका छन् । सार्कले अपेक्षितरुपमा गतिशील र प्रभावकारी काम गर्न नसकेको अवस्था भने छ । सार्कलाई गतिशील तुल्याउन आवश्यक छ, त्यो पक्षमा हामी छाँै ।”

प्रधानमन्त्री ओलीसँग सासद प्रेम सुवाल, गगन थापा, सञ्जयकुमार गौतम, भरतकुमार शाह, रामबहादुर विष्ट, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडू, सरिता गिरी, राजेन्द्र लिङ्देन, मीना पाण्डे, पुष्पा भुसाल, लक्ष्मी परियार, उमा अधिकारी रेग्मी, प्रमिला राईलगायतले भ्रष्टाचार, महिला हिंसा, करवृद्धिका अतिरिक्त सार्क र बिम्स्टेकका विषयसँग जोडेर जिज्ञासा राख्नुभएको थियो ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी पूर्व प्रधानमन्त्रीलगायत सांसद ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.