अर्थमन्त्री डा युवराज खतिवडाद्वारा आगामी वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत

अर्थमन्त्री डा युवराज खतिवडा बुधबार आव २०७६/०७७ को लागि संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा विनियोजित रकम प्रस्तुत गर्दै । तस्वीर: प्रदीपराज वन्त ।

काठमाडौँ, १५ जेठ : सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गर्नुभएको छ ।

नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उहाँले आगामी वर्षभित्र विद्युत् उत्पादन दोब्बर हुने बताउनुभयो । उक्त बजेट आजै दिउँसो सम्पन्न राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठकले पारित गरेका थिए ।
अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख कृष्णबहादुर महराले बैठक शुरु हुनासाथ अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । सरकारले वार्षिक अनुमान पेश गर्दा प्रत्येक मन्त्रालयलाई छुट्याएको रकमअनुसारको लक्ष्य प्राप्त भयो÷भएन, त्यसको विवरण पनि पेश गर्नुपर्नेछ ।
अर्थमन्त्रीको हैसियतले डा खतिवडाले दोस्रो पटक सरकारको वार्षिक बजेट पेश गर्नुभएको हो । सङ्घीय संसद् नयाँ बानेश्वरमा अर्थमन्त्री डा खतिवडाद्वारा भर्खर (अपराह्न ४ बजे)देखि पेश भइरहेको बजेटसम्बन्धी कार्यक्रमको रेडियो नेपाल र नेपाल टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
बजेटसम्बन्धी समाचार लेख्ने सन्दर्भमा अघिपछिको संसद् बैठकको तुलनामा सञ्चारकर्मीको संसद् भवन परिसरमा बाक्लो उपस्थिति रहेको छ । अघिल्ला वर्षझैँ यस वर्ष बजेट कार्यक्रमको अवलोकनका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण नगरिएको संसद् सचिवालयबाट थाहा भएको छ । नेपालको उद्योग वाणिज्य क्षेत्रका विशिष्ट महानुभावहरु प्रस्तुत बजेट कार्यक्रम अवलोकन गर्न ठूलो सङ्ख्यामा संसद् भवन आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.