सैनामैनामा सीप विकास प्रतिष्ठान बन्ने

रुपन्देही, ७ फागुन : सरकारले बनाउन लागेको सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठान निर्माण गर्ने भएपछि सैनामैना नगरपालिकाले उपलब्ध गराएको जग्गाको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले स्थलगत अवलोकन गर्नुभएको छ ।

सरकारले देशका तीन स्थानमा केन्द्रीयस्तरको सीप विकास प्रतिष्ठान निर्माण गर्ने भएको हो । प्रतिष्ठान निर्माणका लागि सैनामैना नगरपालिका–७ लम्टैयामा ४० बिघा क्षेत्रफलको जग्गा उपलब्ध गराइएको छ ।

मन्त्री बिष्टले नेपालको नारायणी नदी पश्चिमदेखि धनगढीसम्मका हजारौँ युवालाई सीप प्रदान गर्ने खालको प्रतिष्ठान सैनामैनामा निर्माण हुने जानकारी गराउनुभयो । “तत्कालीन अवस्थामा स्वदेशमा नै सीप सिकेर केही गर्न चाहने युवालाई दक्ष बनाउने गरी तालीम प्रदान गरिनेछ,” उहाँले भन्नुभयो, “यसले सीपयुक्त जनशक्ति विदेश पलायन रोकिनेछ ।”

उहाँले अहिले विदेश जाने अधिकांश युवा दक्ष सीप नभएकै कारण विदेशमा उचित पारिश्रमिकबिना काम गर्नु परेको बताउनुभयो । उहाँले करीब सय बिघा क्षेत्रफलमा आवासीय सुविधासहितको बन्ने प्रतिष्ठानमा पहिलो चरणमा मध्यममस्तरको तालीम युवालाई प्रदान गरी दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्य रहेकोे प्रस्ट पार्नुभयो ।

सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भन्नुभयो, “बेरोजगार जनशक्तिलाइ दक्ष र आत्मनिर्भर बनाउन निर्माण गर्न लागिएको प्रतिष्ठानलाई अपुग भए थप जग्गा उपलब्ध गराउन तयार छौँ ।” केही समयमा नै विस्तृत योजना सर्वेक्षण प्रतिवेदन (डिपिआर) बनाएपछि त्यसको भौतिक पूर्वाधार निर्माणको चरण अगाडि बढ्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.