उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई प्रदेश नं २ सरकारद्वारा जनकपुरधाममा सम्मान

Yogi Aadityanat at Janakpur
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा । नवीन पौडेल

जनकपुरधाम, २६ मङ्सिर : सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आउनुभएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले सम्मान गरेको छ ।

मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका लागि आग्रह गर्नुभयो ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नं २ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

यसैबीच भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश नं २ को सरकारद्वारा आयोजित भण्डारा (दिवा भोज) मा सरिक हुनुभयो । मधेश भवनमा आयोजित भण्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो । ब्यजनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाँजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारी लगायतका विभिन्न परिकार पस्किइएको थियो ।

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्रीको सम्मानमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पर्यटनमन्त्री अधिकारी, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी मन्दिरमा स्वागत गर्नुभएको थियो ।

‘राम र सीताको जीवन सभ्यताको अभिन्न अङ्ग’

मुख्यमन्त्री योगी आदित्यनाथले भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको उल्लेख गर्नुभएको छ ।

सीताराम विवाह महोत्सवका अवसरमा आज जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनापछि आगन्तुक पुस्तिकामा सो कुरा लेख्दै उहाँले सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम भएकाले पे्ररणा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पूजा अर्चना र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । मुख्यमन्त्री योगीले आफू र प्रतिनिधिमण्डलको स्वागतका लागि नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिँदै भारत सरकार र जनताकातर्फबाट सुख तथा समृद्धिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.