संविधान सबैको भावना अनुरूप छ : देउवा
विराटनगर, ४ मङ्सिर : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ ।
राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उहाँले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताउनुभयो ।
जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा काङ्ग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको आंैल्याउनुभयो ।
उहाँले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताउनुभयो । सभापति देउवाले सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो । उहाँले पार्टीभित्रको कमजोरीलाई सुधार्दै अघि बढ्न पार्टीका जिम्मेवार पदाधिकारीलाई आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीलाई समयानुकूल अघि बढाउन विधान संशोधनको विकल्प नरहेको धारणा राख्नुभयो । केन्द्रीय सदस्यद्वय डा ज्ञानेन्द्र कार्की र डिला सङ्ग्रौलाले सरकारलाई सही मार्गमा ल्याउन काङ्ग्रेसको भूमिका बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई कसरी डो¥याउने, आर्थिक र राजनीतिक रणनीति के हुने र पार्टीलाई समयसापेक्ष बनाउन विधानमा हुने संशोधनका विषयबारे सुझाव लिने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा प्रदेश नं १ का पार्टी सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।
कोइराला परिवारसँग विवाद छैन
सभापति देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताउनुभयो । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने उहाँले जिकिर गर्नुभयो । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गर्नुभयो ।
उहाँले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि काङ्ग्रेसभित्र देखिएको विवाद हटेर जाने जिकिर गर्नुभयो । सभापति देउवाले पार्टीलाई सङ्गठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । सभापति देउवाले काङ्ग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।
