ऐतिहासिक स्थल सिन्धुलीगढीको २५१ औँ विजयोत्सव मनाइयो

सिन्धुली, २४ कात्तिक : नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आज २५१ औँ विजयोत्सव भव्यरुपमा मनाइएको छ ।

नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष आजैका दिन (कात्तिक २४ गते) विजयोत्सव मनाइने गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा आफू लागेको बताउनुभएको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपनालाई साकार बनाउन ओझेलमा परेका र सम्भावना भएका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार सरकारले गर्ने लक्ष्य लिएको बताउनुभयो ।

ऐतिहासिक स्थल सिन्धुलीगढीमा आयोजना गरिएको २५१ औँ विजयोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले १०० गन्तव्य स्थलमध्ये सिन्धुलीगढीलाई राखेको जानकारी दिनुभयो ।

अहिले पहिलो पटक पर्यटकीय स्थलको रुपमा विकास गर्न रु ५० लाख बजेट विनियोजन गरेको भन्दै जीर्ण अवस्थामा रहेको दरबारको तत्काल पुनःनिर्माण कार्य शुरु गर्न कमलामाई नगरपालिकालाई निर्देशन दिनुभयो । ‘‘यसमा सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नेछ’’ उहाँले भन्नुभयो ।

नेपालीको वीरताको गाथा बोकेको सिन्धुलीगढी पछि परेको भन्दै मन्त्री अधिकारीले स्थानीय सरकारले बनाएको गुरुयोजनाअनुसार पुनःनिर्माणको काम गर्न आग्रह गर्नुभयो ।

नेपाल भौगोलिक अवस्थाले धेरै सम्पन्नता भएको देश र यसलाई सही तबरले परिचालन गरे रोजगारी, आम्दानी पर्यटनबाटै सिर्जना गर्न सकिने उहाँको भनाइ रहेको थियो । मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गरेर नेपालका धेरै स्थललाई पर्यटकका लागि गन्तव्य स्थलका रुपमा सरकारले विकास र विस्तारमा जोड दिएको छ भन्नुभयो ।

इतिहासको कालखण्डमा अङ्ग्रेज सेनाको फौजलाई हराएर पठाएको दिन आज ऐतिहासिक दिन भएकाले यसलाई आधार बनाएर नेपाली स्वाभिमानलाई कसैले पनि गिराउन नसक्ने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान निर्माण भइसेकपछि स्थानीय, प्रदेश र केन्द्रीय सरकार आफ्नो व्यवस्थाअनुसार एकैसाथ अघि बढेकाले राष्ट्र र जनताको समृद्धि र विकासको यात्रा शुरु भएको छ ।”

समारोहमा प्रदेश नं ३ का अर्थमन्त्री कैलाश ढुङ्गेलले सिन्धुलीगढीको पुनःनिर्माणका लागि आवश्क पर्ने बजेट विनियोजन गर्ने बताउनुभयो । ऐतिहासिक स्थल र पर्यटकका लागि गन्तव्य स्थल भएकाले जीर्ण दरबारको पुनःनिर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएकाले पुनःनिर्माणको काम शुरु गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको पुनःनिर्माण गर्न रु १७ करोड लाग्ने भएकाले सो रकम प्राप्त भएमा नगरपालिकाले दुई वर्षमा पुनःनिर्माण गरी उक्त रकम फिर्ता दिनेसमेत बताउनुभयो ।

तत्कालीन कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज फौजलाई विसं १८२४ को मध्यमा यही स्थलमा गोर्खाली फौजले बहादुरीपूर्वक लडेर परास्त गरेका थिए । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजको नेतृत्व श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङलगायतको टोलीले अङ्ग्रेज फौजलाई सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख भएको सिन्धुलीगढीका अन्वेषणकर्ताको भनाइ छ ।

अङ्ग्रेज सेनालाई पहिलोपटक १८२४ मा कत्तिक २४ गतेका दिन कहिल्यै नफर्किने गरी हार चखाएको स्मरणमा विगत नौ वर्षदेखि सिन्धुलीगढीमा विजय उत्सव मनाउँदै आइरहेको छ ।

नेपाल र नेपालीको वीरताको गाथा रच्न सफल सिन्धुलीगढीको संरक्षण र सम्बद्र्धनमा सम्बन्धित निकायबाट कुनै पनि चासो नदेखाएपछि नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले २०६७ सालदेखि मनाउन थालेको विजय उत्सव गत वर्षबाट कमलामाई नगरपालिकाले जिम्मेवारी लिएको छ ।

यसैबीच गैरआवासीय नेपाली सङ्घले ऐतिहासिक सिन्धुलीगढी संरक्षण तथा पुनःनिर्माणसम्बन्धी गुरुयोजना कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । गैरआवासीय नेपाली सङ्घ र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जीर्णोद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमतिअनुसार उक्त गुरुयोजना तयार गरी हस्तान्तरण गरिएको छ ।

तीन वर्षभित्र निर्माण पूरा गर्ने गुरुयोजना कार्यान्वयन गर्न रु १७ करोड बजेट लाग्ने नगर प्रमुख खड्ग खत्रीले जानकारी दिनुभयो ।

त्यसअवसरमा युद्धमा वीरता देखाएका सैनिकको तस्वीरमा माल्यापर्ण गरिनुका साथै नेपालको झण्डासमेत फह¥याइएको थियो । सिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको थियो ।

विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दुकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो । अङ्ग्रेज फौजसँगको लडाईं असोजमा भए पनि लडाईं सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिएको छ ।

सिन्धुलीगढीको महत्वका कारण त्यस क्षेत्रको सुरक्षा र संरक्षणका लागि नगरपालिकाले सरकारसँग नेपाली सेनाको टुकडी तैनातीका लागि अनुरोध गरेको छ । हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित छ ।

त्यस क्षेत्रमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी रहेका छन् । ठूलोगढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलोगढीमा तोप, गोलाबारुद्ध, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानोगढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ ।

मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खाल निर्माण गरिएको थियो ।

नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को सङ्ख्यामा काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको थियो ।

उक्त ऐतिहासिक लडाईंबाट अङ्ग्रेज फौजका ५०० थान बन्दुक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो । सिन्धुलीगढी लडाईंमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो (जोडले पोल्ने जङ्गली सिस्ने) र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेको थियो ।

गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाइ रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाईं’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।

विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकामसमेत रहेको सिन्धुलीगढीमा भग्नावशेषका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन् । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटकको पनि बाक्लो उपस्थिति हुन थालेको छ । वार्षिकरुपमा यहाँ कति पर्यटक पुग्छन् भन्ने तथ्याङ्क कुनै निकायसँग रहेको छैन् ।

नगरपालिकाले सोला भञ्ज्याङदेखि गढीसम्म पुग्ने बाटो सुधारका कार्य अन्तिम चरणमा पु¥याइसकेको छ । गढी क्षेत्रको मर्मतका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । गुरुयोजना लागू भएसँगै नगरपालिकाले त्यस क्षेत्रमा जाने पर्यटकसँग शुल्क उठाउने योजना बनाएको छ । हाल गढी क्षेत्रमा वनभोजमा आउने समूहसँग प्रतिसमूह रु ५०० शुल्क लिने गर्दै आएको छ ।

गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीरसहितको परिचय दिने बोर्ड राख्नका साथै विभिन्न महत्वपूर्ण मठ मन्दिर र भग्नावशेषको संरक्षण गर्ने कार्यको थालनी गरिसकेको छ ।

नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगरप्रमुख खड्ग खत्रीले जानकारी दिनुभयो ।

सिन्धुलीगढीका लडाईंमा बाँचेर फर्केका अङ्ग्रेज फौजले ‘नेपाली योद्धा मात्र होइन, त्यहाँका पातपतिङ्गर र कीरा फट्याङ्ग्रासमेतले एउटै मोर्चामा रही लडाईंमा भाग लिएको’ स्मरण आफन्त जानलाई सुनाउने गरेको इतिहास पाइन्छ ।

‘सिन्धुलीगढी घुमेर हेर्दा’ भन्ने गायक कृष्ण विक्रम थापाको सिन्धुलीगढी घुरेर हेर्दा…. भन्ने बोलको त्यस क्षेत्रको लोक गीतले नेपालीलाई यो ठाउँको ऐतिहासिकताको स्मरण गराउन योगदान पु¥याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.