चुनाव प्रचारको आज अन्तिम दिन, राति १२ बजेदेखि मौन अवधि

काठमाडौं, १ मंसिर : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन् ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो ।

आज मध्यराति १२ बजेपछि मौन अवधि (स्थिर समय) सुरू हुनेछ। मौन अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने छैनन् ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थिर समय आज राति १२ बजेदेखि सुरू हुने बताए । निर्वाचन आचारसंहिताअनुसार स्थिर समय लागु भएका बेला चुनावी प्रचार गर्न पाइँदैन ।

‘निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन,’ उनले भने, ‘मतदान हुने दिनभन्दा ४८ घन्टा अघि मतदान स्थलभन्दा तीन सय मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्छ ।’

सामाजिक सञ्जाल, अनलाइन वा छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न नपाइने उनले बताए । ‘सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री हटाउनुपर्छ । लाइक वा सेयर गर्न पाइँदैन,’ उनले भने ।

मतदान स्थल वरपर निर्वाचन बिथोल्ने गरी केही गर्नसमेत नपाइने उनले बताए । ‘मतदान स्थलका वरपर भोज, जुलुस, बाजा बजाउन पनि पूर्ण रूपमा निषेध गरिएको छ,’ उनले भने ।

मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.