जलेश्वरधाममा ४० औँ वार्षिक अनुष्ठान हुँदै
झापा, २८ कात्तिक : पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मङ्सिर ६ गते बाला चतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ ।
पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गङ्गा आरती गरिनेछ । यसैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ । मङ्सिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ ।