माओवादी पेन्डुलम भइसक्यो : रवीन्द्र मिश्र

काठमाडौं, २५ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)लाई पेन्डुलम पार्टी भएकाे बताएका छन् ।

अबको केही वर्षमा नेपालमा जम्मा तीन पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मूल रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र नेपाली कांग्रेस मात्रै हुने बताए । “माओवादी पेन्डुलम जस्तो यता र उति गर्छ, कि त्यो विलय हुन्छ, कि त्यो साँघुरिएर बस्छ,” उनले भने ।

उनले माओवादी केन्द्र अबको केही वर्षभित्र पेन्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताए ।

उनले तीन पार्टीमध्ये दुई पार्टी एमाले र कांग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए । उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र कांग्रेसलाई जति गाली गरेपनि प्रचण्डपथमा नै हिँडेको बताए ।

उनले देशकाे धर्म, संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताए । उनले आसन्न निर्वाचनबाट राप्रपाले प्रगतिशील जगमा देशलाई रूपान्तरण गर्ने बताए ।

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका मिश्रले कांग्रेस नेता स्व.गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबी समेत गरे ।

उनले संघीयता देशको लागि उपयुक्त नभएको उल्लेख गर्दै संघीयतालाई जतिसक्दो चाँडो खारेज गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.