नौ मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरिने
नवलपरासी, २३ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७, सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको गण्डक जलविद्युत् केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाटजडित क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघामध्ये ९.७ बिघा जग्गामा सौर्य विद्युत् आयोजना निर्माण गरिनेछ ।
गण्डकसहित लमजुङस्थित मध्यमर्स्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत् केन्द्रको स्वामित्वको जग्गामा गरी करिब नौ मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरिनेछ । आयोजनाको अनुमानित लागत एक करोड १५ लाख युरो रहेको छ ।
आयोजना निर्माणका लागि जर्मन सरकारबाट केएफडब्ल्यू विकास बैंकमार्फत ६० लाख युरो अनुदान रकम प्राप्त हुनेछ । अपुग रकम नेपाल सरकार र प्राधिकरणले व्यर्होनेछन् ।
मध्यमर्स्याङ्दी र झुप्राखोला जलविद्युत् केन्द्रमा क्रमशः करिब १ र २ मेगावाटका सौर्य विद्युत राखिनेछ । सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ भने ब्याट्री राखिने छैन ।
एक वर्षभित्र ठेक्काट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
आयोजनाको निर्माण वि.सं. २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।