भूकम्पले डोटीमा ६ जनाको मृत्यु, घाइते भएकालाई हेलिकप्टरबाट उद्धार

काठमाडौं, २३ कात्तिक : गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको जानकारी दिइन्।

‘६ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्,’ उनले भनिन्, ‘एउटा बच्चाको सकुशल उद्धार गरिएको छ।’

पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ।

गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

खप्तड केन्द्र भएर गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले डोटीमा धेरै घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ।

भूकम्प गएपछि मानिसहरू रातभर घरबाहिरै बसेका थिए।

गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो।

उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पबाट डोटीशको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो।

उक्त ठाउँमा आठ वटा घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.