कमला नदीमा भूत मेला, श्रद्धालुको घुइँचो

धनुषा, २२ कात्तिक : सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।

कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ ।  कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।

बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ–आफ्नो घर लैजाने गर्छन् ।

धनुषाको कमला नदी किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भूत मेला लाग्दछ । तान्त्रिक विद्यामा पाको हुने जनविश्वासका साथ भूत मेलामा नयाँ धामीहरु सहभागी हुने गर्दछन । तस्वीर: अजयकुमार साह, धनुषा

उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौं सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.