आज गणेश चौथी पर्व मनाईंदै
काठमाडौं, १५ भदौ : आज गणेशको पूजाआजा गरी गणेश चतुर्थी पर्व मनाइँदैछ । तीजको व्रत समापन गरेको भोलिपल्ट गणेशको व्रत बस्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।
आज मध्यान्न ऋद्धि, सिद्धि सहितका गणेशको पूजा गरी अघ्र्य चढाउने गरिन्छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ ।
मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौँका अशोकविनायक, जलविनायक, भक्तपुरको सूर्य्विवनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।
हरितालिका तीजको भोलिपल्ट आज गणेश चौथी मनाउने गरिन्छ । हिजो व्रत बसेका महिलाहरुले आज विहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन् । यस दिन कसैको हानी नोक्सानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । भोलि ऋषि पञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रुपमा समापन हुन्छ ।
गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।
यस दिन बालबालिकालाई भटमास, मकै आदि भुटेका गेडागुडी अर्थात ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।