खुमलटार ‘ए’ डिभिजन लिगमा उक्लियो, सामाजिक र झम्सिखेल युथ ‘सी’ डिभिजनमा झरे

काठमाडौं, २७ चैत : खुमलटार युथ क्लबले आइतबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा उक्लिएको छ ।

आइतबार सम्पन्न अन्तिम चरणको खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटी)लाई ‘हेड टू हेड’का आधारमा पछि पार्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । १२औँ चरणको खेल सकिँदा आरसीटी २१ अंकका साथ दोस्रो स्थानमा थियो । खुमलटार युथ १९ अंकका साथ तेस्रो स्थानमा थियो ।

आइतबार दशरथ रंगशालामा आरसीटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्यो भने खुमलटारले सामाजिक युथलाई २–१ ले हरायो । यससँगै दुवै टोलीको समान २२ अंक भएको थियो । तर ‘हेड टु हेड’का आधरमा खुमलटार शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

खुमलटारले पहिलो खेलमै आरसीटीलाई ३–१ ले हराएको थियो । २०६१ सालमा स्थपना भएको खुमलटार २०७० मा ‘सी’ डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिजनमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खुमलटारले १४औँ मिनेटमा अग्रता लिएको थियो । ५७औँ मिनेटमा सुरेश खत्रीले बराबरी खेल फर्काएका थिए । सामाजिक युथले खुमलटारसँग बराबरी खेल्दै ‘बी’ डिभिजनमा रहने संकेत गरेको थियो । तर अन्तिम मिनेटमा विकाश लिम्बुले आत्मघाती गोल गरेपछि सामाजिक युथ ‘सी’ डिभिजन लिगमा रेलिगेट भयो भने खुमलटार ‘ए’ डिभिजन लिगमा उक्लियो ।

यसअघि चर्च ब्वाइज युनाइटेडले एक खेलअघि नै ‘ए’ डिभिजन लिगमा स्थान पक्का गरिसकेको थियो । चर्च ब्वाइजले १३ खेलबाट २९ अंक जोडेर ‘बी’ डिभिजन लिग च्याम्पियन बनेको छ ।

सामाजिक युथ र झम्सिखेल युथ भने ‘सी’ डिभिजन लिगमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.