प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

काठमाडौं, १८ चैत : प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाने भएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा आज दिउँसो १ बजे तीन दिने औपचारिक भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् ।

देउवा शुक्रबार दिउँसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्नेछन् । देउवाको बस्ने व्यवस्था यही होटलमा मिलाइएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारत भ्रमण गर्ने बेलामा पनि यही होटलमा बसेका थिए ।

शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसी मौर्यमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

शनिबार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।

शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

शनिबारको दिन साँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने छन् ।

बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव भारत जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा नेतृत्वमा ५० सदस्यीय भ्रमण टोली भारत जाने भएको हो ।

भारत भ्रमणका क्रममा सीमा विवाद, ऊर्जा, द्विपक्षीय हित, व्यापार तथा लगानीलगायत विभिन्न विषय नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर-जयनगर रेलको संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसमेत छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.