भाडा बढाउन मुख्यमन्त्रीलाई ७ दिने अल्टिमेटम

हेटौँडा, १ चैत : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भाडा बढाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनको समय दिएको छ।

मंगलबार ज्ञापनपत्र बुझाउँदै महासंघले इन्धनको मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउन मुस्किल भएको भन्दै भाडा बढाउन ७ दिने अल्टिमेटम दिएको हो। उनीहरूले ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिएका छन्। वैज्ञानिक प्रणालीका आधारमा भाडा बढाउन सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरेअनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै महासंघले ५ बुँदे माग राखेको छ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले मुख्यमन्त्री पाण्डेलाई बुझाएको ज्ञापनपत्रमा इन्धनको मूल्य १०४ रुपैयाँ हुँदा बढेको भाडा इन्धनको मूल्य १३३ रुपैयाँ पुग्दा पनि नबढ्दा यातायात सञ्चालनमै समस्या परेको भन्दै भाडा बढाउन र मुलुकलाई चाहिनेभन्दा बढी ट्रक हुँदाहुँदै पनि भारतीय गाडीहरू निर्बाध आइरहेकाले भारतीय र चिनियाँ सवारीसाधन रोक्न माग गरिएको छ।

यसैगरी भारतीय सीमा क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेकाले इन्धन तस्करी रोक्न पनि माग गरिएको छ। भारतमा थोत्रा भएका ट्रकहरू नेपालको सीमा बजारमा ल्याएर चलाइने गरिएकाले नेपाल भारतको थोत्रो ट्रक डम्पिङ साइट बन्दै गएकाले थोत्रा ट्रक डम्पिङ हुनबाट रोक्नुपर्ने र मुख्य राजमार्गमा पार्किङ स्थल नबनेकाले दुर्घटना बढेकाले पार्किङस्थल बनाउनुपर्ने माग गरिएको छ।

मुख्यमन्त्री पाण्डेले केही दिनमै यातायातमन्त्रीलाई बोलाएर छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.