एसइई परीक्षा तालिका सार्वजनिक, परीक्षा केन्द्र दुई हजार

काठमाडौं, २७ माघ : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका बिहीबार सार्वजनिक गरेको छ। तालिकाअनुसार वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा हुने छ। तर, प्रश्नपत्र पुरानो कि नयाँ छाप्ने भन्नेबारे बोर्ड अझै अन्योलमै छ।

आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएपछि २०७७ सालमा छापिएको प्रश्नपत्र प्रयोगमा आएको छैन। बोर्डका अनुसार २०७७ सालमा करिब ५ लाख प्रश्नपत्र छापिएको थियो। यसमा करिब २ करोड रूपैयाँ खर्च भएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले प्रश्नपत्रबारे अझै निर्णय नभएको बताए।

बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले राजधानीमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रियामा अध्यक्ष शर्माले भने, ‘बोर्डले प्रश्नपत्रबारे के गर्ने भन्ने निर्णय नगरी भन्न सक्दिनँ, छलफल गरेर मात्र यसको टुंगो हुन्छ।’

उनले प्रश्नपत्र छाप्ने मोडल पहिला नै तयारी राखिएकाले नयाँ नै छाप्नु परेमा समयमा छाप्न सकिने बताए। पहिला छापिएको प्रश्नपत्र सुरक्षित रहेको पनि उनले जानकारी दिए।

दुई हजार परीक्षा केन्द्र तोकियो

बोर्डका अध्यक्ष शर्माले सबै जिल्लामा २ हजार परीक्षा केन्द्र तोकिएको जानकारी दिए। उनका अनुसार ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसईई परीक्षा दिने छन्।

‘त्रासको वातावरण सिर्जना नगरी परीक्षा लिन्छौँ, प्रश्नपत्र पनि सम्बन्धित ठाउँमा सहज रुपमा उपलब्ध गराउने हाम्रो तयारी छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.