दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

काठमाडौं, २७ माघ : सरकारको स्वामित्वमा  रहेको दुग्ध   विकास   संस्थान   (डीडीसी)ले   दूधको   उपभोक्ता मूल्य  प्रतिलिटर  नौ  रुपियाँ  वृद्धि  गरी  ८५  रुपियाँ  निर्धारण  गरेको छ ।

डीडीसीको  बुधबार  बसेको  सञ्चालक  समितिको बैठकले   सो   मूल्य   निर्धारण   गरेको   हो । यसअघि मन्त्रिपरिषद्को  बैठकले  किसानका  लागि  प्रतिलिटर ६.५२ रुपियाँ  वृद्धि  गरी  ५६.०४  रुपियाँ  निर्धारण  गरेको  थियो । त्यसअघि  किसानले  बेच्ने  दूधको  मूल्य  प्रतिलिटर  ४९.५२ रुपियाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य  निर्धारण  गर्ने जिम्मेवारी  डीडीसीलाई  दिएको  थियो ।

संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको बोर्ड स्रोतले जानकारी दियो । मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।

डीडीसीले  उपभोक्ता मूल्य  निर्धारण  गरिसकेपछि  त्यसैको  आधारमा  निजी  डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपियाँ थिया । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर  ६.५२  रुपियाँ  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर२.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको  छ । उद्योगीले  प्रतिलिटर १० रुपियाँ वृद्धि  गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये  सात रुपियाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने पस्ताव गरिएको थियो । यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.