भेरी अस्पतालको क्वाटरमा चारजना मृत फेला, तीनजना बेहोस
नेपालगञ्ज, १५ पुस : नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन् ।
तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको हो ।
घटनामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो ।
श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले थाहाखबरलाई जानकारी दिए । उनकाअनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर घटना भएको हो ।
बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ ।