सल्लाहकार परिषद्को सदस्य बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौं, ३ पुस : नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै आफूलाई नसोधी कुनै पनि पदमा टीका लगाइदिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

एमालेको दशौं महाधिवेशनमा उनले अध्यक्ष पदको लागि केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिएका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रूचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए।

पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

अछामबाट प्रतिनिधिसभामा निर्वाचित रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.