कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता, राष्ट्रियसभा गृहमा चहलपहल

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदैछ ।

आज बिहान १० बजे देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि राष्ट्रियसभा गृहमा उमेदवारी दर्ताका लागि फर्म वितरण गरिएको छ । दर्ताका लागि टेबलको व्यवस्थाका गरिएको छ । मतदानका लागि बुथ निर्माण गरिएको छ । मतदानस्थलमा कार्यकर्ताको चहलपहल छ ।

आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुनेछ ।

नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ ।

सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने छ । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

चार हजार ७४३ प्रतिनिधि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन् ।

सभापतिका लागि ३० हजार शुल्क

नेपाली कांग्रेसका पदाधिकारीमा उम्मेदवारी दिन छुट्टा–छुट्टै शुल्क निर्धारण गरिएको छ । सचिव शर्माका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्नेछ ।

‘उपसभापति र महामन्त्री २५–२५ हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्नेछ । सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्नेछ ‘ उनले भने।

अलग–अलग मापदण्ड

नेपाली कांग्रेसको सभापति, पदाधिकारी र केन्द्रीय सदस्य बन्न अलग–अलग मापदण्ड तोकिएको छ । विधानअनुसार ‘केन्द्रीय महाधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुनेछन् ।

कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट उपसभापति र महामन्त्री निर्वाचित गर्ने प्रावधान विधानमा छ । सहमहामन्त्री पदको उम्मेदवार बन्न पनि १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्नेछ । विधानअनुसार १० वर्ष केन्द्रीय महाधिवेशनका प्रतिनिधि भएका मध्येबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक-एक गरी आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

केन्द्रीय कार्यसमिति सदस्य पदमा प्रत्यक्षतर्फ ३५ जना सदस्य निर्वाचित हुनेछन् । महिलातर्फ नौ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय कार्यसमितिका लागि सात प्रदेशबाट २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।

दलिततर्फ चार महिलासहित नौ जना, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना, खसआर्यतर्फ छ महिलासहित १३ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मधेसीतर्फ चार महिलासहित नौ, थारुतर्फ दुई महिलासहित चार, मुस्लिमतर्फ एक महिलासहित तीन र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

अल्पसङ्ख्यक र अपाङ्गता भएकातर्फ एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विधानमा केन्द्रीय कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ । विधानमा भनिएको छ, ‘समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.