कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित

हेटौंडा, २० मंसिर : कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बानियाँ जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन् ।

निर्वाचित बानियाँले १०८५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी केसीले ९२७ मत ल्याए । जम्मा २०२५ मत खसेकोमा १३ मत बदर भएको थियो ।

बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँको जीतले संस्थापन इतर समूहलाई पार्टीको महाधिवेशनको लागी चुनौति दिएको छ।

संस्थापन इतरका शीर्ष नेताहरुको बलियो भोट रहेको भनिएको बागमती प्रदेशमा नै संस्थापन पक्षका बानियाँले जितेपछि इतर समूहलाई महाधिवेशनको लागि चुनौति देखिएको हो।

संस्थापन इतर समूहको सभापतिका उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई जिताउन प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, रामशरण महत र गगन थापा लगायतका नेता मैदानमा उत्रिएका थिए। तर, संस्थापन इतरको तुलनामा कम अंक गणितीय मत रहेको भनिएका पार्टी सभापति देउवा निकट बानियाँको जीतले कांग्रेसको आउदै गरेको महाधिवेशनमा इतर समूहलाई चुनौति दिएको छ। महाधिवेशनमा नेतृत्व चयन गर्न बागमती प्रदेश निर्णायक रहने भन्दै प्रकाशमान सिंह र गगन थापा लगायतको नेताहरुले आफ्नो पक्षमा जीत पार्न खोजेका थिए। तर पहिलो निर्वाचन प्रक्रियाबाट नै अगाडि रहेका बानियाँले दोस्रो चरणको निर्वाचनमा पनि केसीलाई पछि पार्दै जीत हात पारे।

कांग्रेसको १४ औ महाधिवेशनमा बागमती प्रदेशबाट नेता सिंहले सभापति र थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तोमा बागमती प्रदेशमा संस्थापन पक्षको जीतले कांग्रेस महाधिवेशनमा संस्थापन इतरभन्दा देउवालाई बलियो देखाएको छ।  १४ औ महाधिवेशनबाट इतर समूह नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन् भने देउवा पुनः सभापति बन्ने दौडमा छन्। निर्वाचनको दिन हेटौंडा आएका इतर समूहका शिर्ष नेताहरुले केन्द्रमा नेतृत्व परिवर्तन गर्न प्रदेश सभापतिमा आफू पक्षीय उम्मेदवार केसीको जीत आवश्यक रहेको बताएका थिए।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा नै बानियाँले सबैभन्दा धेरै भोट पाएका थिए। तर, कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुनको लागी ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधानको कारण पुनः मतदान भएको थियो। पहिलो चरणमा देउवा पक्षका बानियाँले ९ सय ९२ मत ल्याएका थिए भने दोस्रो हुने केसीले ८ सय ७२ मत ल्याएका थिए। तेस्रो हुने भीमसेनदास प्रधानले १ सय ९७ मत ल्याएका थिए। सबैभन्दा कम मत पाएका प्रधानले पहिलो निर्वाचन प्रक्रियाबाट बाहिरिएसँगै दोस्रो निर्वाचनमा बानियाँलाई सघाउने उद्घोष गरेका थिए।

पहिलो निर्वाचनमा नै बानियाँले बढि भोट पाएपछि शनिबार काठमाडौं फर्किसकेका नेता सिंह आईतबार हेलिकोप्टर चढेर हेटौंडा आएका थिए। केसीलाई  सभापतिमा विजयी गराउन अधिवेशन संयोजक सिंह नै लागेको भन्दै संस्थापन पक्षले  विरोध समेत गरेका थिए।  तर , दोस्रो चरणमा भएको निर्वाचनमा पनि बानियाँले केसीलाई १ सय ५८ मतान्तरले पराजित गर्दै  नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सभापति बनेका छन्।

दोस्रो चरणको मतदानमा बानियाँले १ हजार ८५ मत प्राप्त गरेका छन् भने केसीले ९२७ मत प्राप्त गरे। कुल २ हजार २५ मत खसेकोमा १३ मत बदर भएको थियो। नेपाली कांग्रेस बागमती प्रदेशको अन्य पदाधिकारी र सदस्यहरुको लागी भएको निर्वाचनको मतगणना भने सोमबार बिहान ९ बजेपछि मात्रै हुने जनाइएको छ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधानमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार फेरि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.