राप्रपाकाे नयाँ नेतृत्वका लागि आज मतदान हुँदै
काठमाडौं, १८ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारबाट जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्त्वको लागि चुनाव हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ । जारी अधिवेशनमा वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।
पार्टीको हिजो अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उमेदवारी दर्ता भएको छ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उमेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उमेदवारी दर्ता भएको छ ।
अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुले प्यानल नै खडा गरेका छन्। उपाध्यक्षमा नौ जना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिए ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।
सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए ।
देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्। प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन् ।
निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ ।